दफा ६२४
हायर पर्चेज करार भएको मानिनेः

(१) देहायको शर्तमा कसैले कुनै वस्तु कुनै व्यक्तिलाई भाडामा दिएकोमा हायर पर्चेज करार भएको मानिनेछ:-
(क) वस्तुको धनीले कुनै व्यक्तिलाई आवधिक रूपमा किस्ताबन्दीमा रकम भुक्तानी गर्ने गरी भाडामा दिएको वस्तुमा भाडामा लिने व्यक्तिको भोगचलनको अधिकार हुने,
(ख) करारको शर्त बमोजिम भाडामा दिएको वस्तु भाडामा लिने व्यक्तिले खरिद गर्न सक्ने,
(ग) अन्तिम किस्ताबन्दी रकम भुक्तानी गरेपछि त्यस्तो वस्तुको स्वामित्व भाडामा लिने व्यक्तिलाई हस्तान्तरण हुने,
(घ) खण्ड (ग) बमोजिम स्वामित्व हस्तान्तरण हुनुभन्दा अगाडि कुनै पनि बखत भाडामा लिने व्यक्तिले करार अन्त्य गर्न सक्ने ।
(२) उपदफा (१) बमोजिमको करार लिखित रूपमा हुनु पर्नेछ ।
(३) यस दफा बमोजिम भएको करारको एक प्रति करार सम्पन्न हुनासाथ वस्तुको धनीले भाडामा लिने व्यक्तिलाई निःशुल्क रूपमा उपलब्ध गराउनु पर्नेछ ।
(४) “वस्तु” भन्नाले भोगचलनको लागि भाडामा दिन सकिने कुनै पनि चल सम्पत्ति सम्झनु पर्छ ।
(५) “भाडामा लिने व्यक्ति” भन्नाले हायर पर्चेज करार बमोजिम भोगचलनका लागि कुनै वस्तु भाडामा प्राप्त गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले निजको मृत्यु भएको अवस्थामा निजको हकवाला वा त्यस्तो वस्तु करार बमोजिम प्राप्त गर्ने अन्य तेस्रो व्यक्ति समेतलाई जनाउँछ ।